भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार : विद्युत् प्राधिकरण

इन्भेष्टाेपेपर ।  असार २३, २०७९

काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ ।     

नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेशनबाट मैनहिया सबस्टेशनसम्मको कुल १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधवारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको बताएको छ । प्रसारण लाइन निर्माणसँगै करीब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने गरी पूर्वाधार तयार गरिएको छ ।

मैनहियामा १३२/ ३३/ ११ केभीको सबस्टेशन निर्माण गरिएको छ । सबस्टेशनमा ४५ एमभीए क्षमताका दुई ओटा पावर ट्रान्सफर्मर र ३३/ ११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् ।प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगहरूलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।

स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेशनबाट ३३ केभीका १० ओटा फिडर निकालिने छ । त्यसमध्ये चार ओटा फिडरको लाइन तानिएको उनले बताए।  

कुल १८ किलोमिटर प्रसारण लाइनमा ५७ ओटा टावर निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/ ७१ देखि शुरु भएको थियो ।

मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेशनबाट भारतको उत्तरप्रदेशस्थित सम्पत्तीया (न्यू नौतनुवा) सबस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ ।

अहिले उत्तरप्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तीयामा संरचना बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज हुने भएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *