फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौं महानगर
इन्भेष्टाेपेपर । असार २३, २०७९
काठमाडौं । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ । कुनै पनि समयमा सडक किनारमा खाद्य लगायतका विभिन्न सामग्रीको विक्री वितरण गर्न नपाइने नीति रहेकाे महानगरले जनाएको छ ।
नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर्दै महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताए । उनले भने, ‘सडकपेटी पैदलयात्रु हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि बनाइएको होइन । त्यसैले अटेर गरी सडकपेटीमा पसल राख्नेलाई उठाइएको हो, अटेर गर्नेकै सामान जफत गरेको हो ।’
एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरण गराए । महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगरसभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ ।
‘महानगरको कार्यपालिका बैठकको निर्णयानुसार हामीले काम अगाडि बढाएका हौं । यसमा विरोध गर्नुपर्ने विषय नै छैन, कार्यपालिकाको निर्णयमा काम गर्दा किन विरोध गर्नु, यसलाई नियन्त्रण गर्नका लागि सडकपेटी प्रयोग गरी राखेको व्यवसायलाई करको दायरामा आउने गरी रूपान्तरण गर्नु हाम्रो दायित्व हो’, सापकोटाले भने ।
उनले सडक अतिक्रमणलाई नियन्त्रण गर्ने काम महानगरले गरेको बताए । अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफूले स्वभाविकरूपमा लिएको उनको भनाइ छ । फुटपाथ व्यवस्थापनको काम आमनागरिकको हितका लागि गरिएको प्रमुख सापकोटाले बताए ।
‘सडकपेटी प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने काम कुनै पनि बहानामा सकारात्मक होइन, महानगरको नीतिमा २४ घण्टा फुटपाथमा व्यापार गर्न पाइने छैन । यदि कतै भएको छ भने त्यो महानगरको आँखा छलेर भएको हो । आगामी दिनमा ती सबैलाई कानूनी दायरामा ल्याउने प्रयास महानगरको रहन्छ’, उनी भन्छन् ।
फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने साँझ बिहानको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उनले बताए । सडक किनारामा मकै पोलेर विक्री गर्दैै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिका आलोचित भएको थियो । उक्त घटनाको स्मरण गराउँदै उनले भने, ‘साँझ बिहान केही त्यस्ता स्थानमा हामीले छाड्ने गरेका छौं । तर, त्यो पनि महानगरको नीतिमा पर्दैन, केही दिनअघिको घटनाको सन्दर्भ भने दिउँसोको हो, त्यो त हामीले छाड्ने कुरै भएन ।’
महानगरले अहिले दैनिक चार टोली खटाएर अतिक्रमण नियन्त्रणको काम गरिरहेको बताइको छ । अहिले बढी मात्रामा सडक अतिक्रमण हुने स्थान सुन्धारा, न्युरोड, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, नयाँ बसपार्क, बालाजु, कलंकी, कालीमाटीलगायत छन् ।
पटक–पटक सूचना जारी र माइकिङ गर्दा पनि फुटपाथ व्यावसायीले अटेरी गरेपछि सामग्री जफत गर्नुपरेको महानगरले जनाएको छ ।
जफत गरिएका सामग्री लिलाम
सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको महानगरले जनाएको छ । सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलनशील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यावसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ ।
चालु आवमा रू. १५ लाख सामग्रीको लिलाम प्रक्रिया अघि बढाइएको छ । गत आवमा रू. ५२ लाख बराबरका सामान लिलाम गरिएको थियो । प्रमुख सापकोटाका अनुसार त्यसमा फलामजन्य, होडिङ बोर्ड, पाइप, साइकल र ठेलागाडा लगायतका सामान रहेका थिए । यसरी लिलाम गरेर असुल भएको रकम महानगरको कोषमा जम्मा हुने गरेको बताइएको छ ।
‘फुटपाथको विकल्प चाहिन्छ’
महानगरले नीतिको कुरा गरिरहँदा सडकमा नै व्यापार गरेर गुजारा गरिरहेका परिवारको व्यथा भिन्न छ । विगत १० वर्षदेखि सुन्धाराको सडकमा कपडाको व्यापार गर्ने रामेछापकी ५३ वर्षीया मनमाया पौड्यालले सडक व्यापारले तीन जनाको परिवारलाई लालनपालन र छोराछोरीलाई पठनपाठन गरिरहनुभएको छ । अहिले परिस्थिति बदलिएपछि कति बेला नगर प्रहरी आएर सामग्री जफत गर्ने हो पत्तो नै नभएको उनी बताउँछन् । ‘गाउँ छोडेको १५ वर्ष भयो, छोराछोरी ठूला भइसके, पुनः गाउँ जानका लागि छोराछोरी मान्दैनन्, आगामी दिनमा छोराछोरीको सहरमा बस्ने रहर पूरा गर्न कठिन छ’, उनले भनिन् ।
फुटपाथमा व्यापार नगर भनिरहँदा महानगरले अन्य विकल्प खोजिदिनुपर्ने मनमायाको भनाइ छ ।
१७ वर्षदेखि डल्लुपुलमा फलफूलको व्यापार गर्दै आएका रामजनम मिश्रको समस्या पनि मनमायाको भन्दा फरक छैन । उनको फलफूलको टोकरी नगर प्रहरीले जफत गरेको धेरै पटक भइसक्यो । उनले पटकपटक जफत गरिएको सामानको जरिवाना तिर्दै फिर्ता ल्याउने गरेका छन् । फलफूलको व्यापार गरेकै भरमा रामजनमले चार छोराछोरीसहित ६ जनाको परिवार पाल्दै आएका छन् । आगामी दिनमा पनि फलफूलको टोकरी जफत भए आफ्नो परिवारको गाँस टुट्ने भन्दै व्यापार गर्नका लागि अन्य वैकल्पिक स्थानको व्यवस्था गरिदिन उनले माग गरेका छन् ।
महानगरले भने तत्कालका लागि उनीहरूका लागि अन्य कुनै निश्चित समय वा ठाउँ दिने अवस्था नरहेको र फुटपाथ व्यवसाय व्यवस्थित गर्न नियन्त्रण गर्नेबाहेक अरु विकल्प नभएको जनाएको छ । (रासस)
