एक स्वास्थ्यकर्मीकाे कालिजपालन, वार्षिक १२ लाख आम्दानी

न्भेष्टाेपेपर । कात्तिक २२, २०८१

बागलुङ। ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले विगत छ वर्षदेखि कालिजपालन गर्दै आएका छन्। पेसाले स्वास्थ्यकर्मी रहेका कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । कार्यलयको कामबाट फुर्सद हुनेबित्तिकै उनी कालिज फार्ममा काम गर्न पुग्छन्।

कँडेलले कालिजपालनको शुरुआत काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर गरेका थिए । जसका लागि उनले २४ हजार रूपैयाँ खर्च गरेका थिए। हालसम्म उनले कालिजपालनमा  २५ लाख रूपैयाँभन्दा बढी लगानी गरिसकेका छन्। व्यवसाय विस्तारसँगै उनी चल्ला उत्पादन पनि गरिरहेका छन् । 

‘सानो स्वर्ग’ नामक फार्म दर्ता गरी व्यवसायिक रूपमा कालिजपालन थालेका कँडेलले शुरूआती दिनमा चल्ला व्यवस्थापनमा कठिनाइ भोगे। तर अहिले उनले ह्याचरी सञ्चालन गरेर चल्ला उत्पादन गरिरहेका छन् । तर, उत्पादन बढेसँगै बजार पाउन कठिनाइ भएको उनी बताउँछन्।

‘केही वर्षअघि एउटा कालिज फार्म हेर्ने अवसर पाएँ, त्यसपछि काभ्रेबाट चार ओटा कालिज ल्याएर पाल्न थालें,’ कँडेलले भने, ‘व्यवसायिक रूपमा अघि बढ्छु भन्ने सोचेको थिइनँ, तर कालिजले दुई सय अण्डा दिएपछि व्यवसायिकता ल्याउने विचार आयो। अहिले रहरको कालिजपालन व्यवसायमा परिणत भएको छ।’

कोभिड–१९ महामारीको बेला ५०० कालिज मरेर लाखौंको नोक्सानी व्यहोर्नु परेको र त्यसपछि फार्म खाली भएपछि पुनः चल्ला ल्याउनु परेको उनले सुनाए। कँडेलले उत्पादन गरेका कालिजहरू बुर्तिवाङ, बागलुङ हुँदै काठमाडौँसम्म बिक्री हुन्छन् । भाले कालिजलाई  २ हजार ५०० र पोथीलाई १ हजार ५०० मा बिक्री गर्दै आएका उनी यस वर्ष दशैंमा मात्र तीन सय कालिज विक्री गर्न सफल भएको बताए ।

हाल फार्ममा सात सय कालिज छन् । कालिजबाट वार्षिक १२ लाखभन्दा बढी आम्दानी हुने कँडेल बताउँछन्। एक कालिज विक्रीयोग्य हुन सात महिना लाग्छ। बजारमा राम्रो पहुँच भए अझै धेरै आम्दानी लिन सकिने उनको विश्वास छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *