महत्वाकांक्षी निर्णयः एक वर्षभित्र सबै स्थानीय तहमा टेलिकमको फोरजी

नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) पुर्‍याउने भएको छ । टेलिकमले कम्तीमा हरेक स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी फोरजी सेवा विस्तार कार्य अघि बढाएको हो । आगामी एक वर्षभित्र सबै स्थानीय तहमा फोरजी सेवा पुर्‍याइसक्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । 

‘अहिले पनि हाम्रो कुनै न कुनै सेवा हरेक स्थानीय तहमा पुगिसकेको छ,’ टेलिकमका बिहीबार आयाजित अन्तरक्रिया कार्यक्रममा अधिकारीले भने, ‘फोरजी विस्तारको योजना सातै प्रदेशका सबै स्थानीय तहमा पुग्ने गरी बनाएका छौँ ।’ सहरी क्षेत्रमा १८०० ब्यान्ड र ग्रामीण क्षेत्रमा ८०० ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरी सबै क्षेत्रमा फोरजी सेवा सञ्चालन गरिने उनले जानकारी दिए । 

देशभर फोरजी सेवा विस्तारका लागि टेलिकमले तीनवटा सम्झौता गरिसकेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । कम्पनीले कोर नेटवर्कका लागि चीनको जेडटिई कर्पोरेसनसँग तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सिसिएसआईसँग सम्झौता गरिसकेको छ । नेटवर्क १ अन्तर्गत प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्ने उनले बताइन् ।

सम्झौताअनुसार एक महिनामा कार्य सम्पन्न गर्नका लागि साइट सर्भेको काम सुरु भइसकेको उनले बताइन् । टेलिकमले नेपालमै पहिलोपटक १७ पुस २०७३ देखि काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो । तर, दुई वर्ष बितिसक्दा पनि देशका अन्य क्षेत्रमा फोरजी सेवा विस्तार गर्न सकेको छैन । ‘विभिन्न प्राविधिक कारण हामीले फोरजी सेवा विस्तार गर्न सकेका थिएनौँ, हामी एक वर्ष ढिला भइसकेका छौँ,’ प्रबन्ध निर्देशक अधिकारीले भने, ‘त्यो ढिला भएको एक वर्षसमेत मेकअप हुने गरी वर्ष दिनभित्रै देशभर फोरजी पुर्‍याउनेछौँ ।’ छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रूपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको उनले बताए ।  

तातोपानीमा क्रसबोर्डर अप्टिकल फाइबर
टेलिकमले तातोपानी नाकाबाट समेत चीनलाई क्रसबोर्डर अप्टिकल फाइबरबाट जोड्ने योजना अघि बढाएको छ । उत्तरतर्फको  कम्तीमा दुईवटा नाकाबाट अन्तरदेशीय नेटवर्क विस्तार गर्ने नीतिअनुसार तातोपानी नाकामा ‘क्रसबोर्डर अप्टिकल फाइबर बिछ्याउन सर्भे भइरहेको उनले बताए । हाल टेलिकमले केरुङ नाकाबाट चीनसँग अन्तरदेशीय नेटवर्क जडान गरेको छ । 

४ सय ७ बिटिएस थपिए 
चालू आर्थिक वर्षको ९ महिनामा टेलिकमले बिटिएस स्तरोन्नति र विस्तारलाई तीव्रता दिएको प्रवक्ता वैद्यले जानकारी दिइन् । ‘चैत मसान्तसम्म ४ सयवटा थ्रिजी बिटिएसहरूको स्तरोन्नति भइसकेको छ भने ४ सय ७ वटा बिटिएस थप गरिएको छ,’ उनले भनिन्, ‘एक करोड लाइन मोबाइल विस्तार आयोजना प्याकेज ‘बी’को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’को काम ९५ प्रतिशत सकिएको छ । चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।’ नयां पत्रिका दैनिकमा खवर छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *