उपत्यकाका ट्राफिक प्रहरी अब कालो चस्मामा चिटिक्क
Investopaper, श्रावण २१, २०७६
काठमाण्डाै – नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाण्डाै उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई नमूना सङ्गठनको रूपमा विकास गर्ने नीतिअनुसार उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गर्नुभएको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको धुलो धुवाँबाट बच्न तथा सडकमा ‘स्मार्ट’ देखिने भएकाले याे चस्मा वितरण गरिएको जानकारी दिनुभयो । अहिले काठमाण्डाै उपत्यकामा मात्र एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् ।
- रासस
