टर्कीबाट फर्काइएका पीडितले पाउनेभए १ करोड क्षतिपूर्ति

Investopaper, असाैज ०५, २०७६

काठमाडौँ :– करार अवधिमा नै सेवासुविधा नपाएर नेपाल फर्काएका १७० युवाले उजुरी गरेपछि टर्कीको रोजगारदाताले १ करोड रुपैयाँ क्षतिपूर्ति दिएको छ। नेपालबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई करार अवधिमै बिना सेवासुविधा स्वदेश फर्काएपछि नेपाल सरकारको लामो कुटनीतिक प्रयासपछि टर्कीको रोजगारदाताले सो क्षतिपूर्ति दिएको हो ।

नेपाल सरकारले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत सम्बन्धित देशसँग लगातारको सम्पर्कपछि बिनातलब फर्किएका नेपाली युवाको लगभग ९८ लाख रुपैयाँ पारिश्रमिक फिर्ता गरिएको छ। टर्कीस्थित आईजीए कम्पनीबाट १७० युवाले पाउनुपर्ने ९८ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

यी युवा सन् २०१९ को सुरुसम्म पटकपटक गरेर तीनवटा मेनपावरबाट रोजगारीका लागि टर्कीको आईजीए कम्पनी गएका थिए । रोजगारीमा लागेको केही समयपछि नै कम्पनीले आफू टाट पल्टिएको जनाउँदै १७० नेपालीलाई बिनातलब स्वदेश फर्काएको थियो । महानिर्देशक भुसालले युवा पठाउने नेपाली मेनपावर कम्पनीकोभन्दा पनि टर्कीको रोजगारदातामा नै गल्ती देखिएको बताए । 

पीडितको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले पाकिस्तानमा रहेको नेपाली दुतावास मार्फत पटक पटक टर्की सरकारलाई अनुरोध गरेको थियो । टर्की सरकारले नेपाली श्रमिकमाथि भएको श्रम शोषणका सम्बन्धमा कम्पनीसँग सहकार्य गरेर नेपाली युवाले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराएको हो। “टर्कीस्थित आईए कम्पनीमा गई पूरा अवधि काम गर्न नपाई फर्किएका कामदारहरूले क्षतिपूर्तिका लागि विभागमा उजुरी गरेका थियो,” महानिर्देशक भुसालले भने “विभाग र पाकिस्तानस्थित नेपाली राजदूतावासको पहलमा लामो समयपछि क्षतिपूर्ति रकम प्राप्त भएको र सो वितरण गर्ने तयारी भइरहेको छ।” 

यसका लागि प्रमाणसहित क्षतिपूर्ति रकम दावी गर्न विभागले पीडितलाई अनुरोध समेत गरेको छ । विभागले क्षतिपूर्ति रकम दावी गर्न सम्बन्धित १७० जना युवालाई सक्कल राहदानीसहित उपस्थित हुन सूचित गरेको छ । याे समाचार आजको कारोबारमा प्रकाशित छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *