धितोपत्र बजार बन्द हुने सम्बन्धमा ।
इन्भेष्टोपेपर।चैत्र ९, २०७६
काठमाडौँ। हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम र नियन्त्रण सम्बन्धमा सम्मानीय प्रधानमन्त्रीज्यूको सम्बोधन, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय, नेपाल सरकारबाट हाल भैरहेका प्रयासहरु, बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति सम्बन्धमा दिइएको ज्ञापनपत्रहरु तथा सोमा व्यक्त बजार प्रतिको चासोलाई दृष्टिगत गरी लगानीकर्ताको हित प्रवद्र्धनका लागि धितोपत्र बजार बन्द गर्ने सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्ज लि. सँग परामर्श गर्दा कोरोना भाईरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएकोले कोरोना भाईरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खण्ड (घ) मा बोर्डको विशेष अधिकार अन्र्तगत लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको ।
उपर्युक्तानुसारको पृष्ठभूमिमा बोर्ड संचालक समितिको मिति २०७६।१२।०९ गतेका दिन बसेको बैठकले हाल देशमा कोरोना भाईरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको परामर्श समेतलाई मध्यनजर गरी लगानीकर्ताहरुको हकहित प्रवद्र्धनका लागि धितोपत्र बजारमा भैसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गर्ने÷गराउने गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा १ को खण्ड(घ) बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी यही मिति २०७६ चैत १० गते देखि पाँच (५) कारोबार दिनका लागि धितोपत्र बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्ज लि. लाई आदेश दिने निर्णय भएको व्यहोरा प्रवक्ता निरज गिरीले सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गर्नुभयो ।
