नारायणीमा पानीजहाज परीक्षण सफल, अब डेकाेरेसनकाे काम बाँकी
Investopaper, पौष ८, २०७६
काठमाडौँ। चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो ।
निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, ‘आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ ।’
निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी दिए । नारायणगढ बजारबाट करिब छ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो । ‘एक किलोमिटर जति सञ्चालन गरेका थियौं,’ उनले भने, ‘हामी सफल भएका छौं, अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौं’।
तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । दुई सय जना अट्ने क्षमता रहेको जहाजमा कुर्सी राख्ने, कार्पेट, रङरोगन गर्ने, पानी ट्यांकी, बिजुली जडानलगायतको काम बाँकी रहेको प्रबन्धनिर्देशक कँडेलले जानकारी दिए ।
‘दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरेका थियौं, डिजाइनमा केही परिवर्तन गर्नुपर्ने र निर्माणको क्रममा ढिलाइ भएकाले सकेनौं, उनले थपे, ‘सकेसम्म जनवरी महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौं । जहाज चल्ने क्षेत्र काभ्रेघाटदेखि देवघाटसम्म करिब २५ किलोमिटरको दूरीमा सफल परीक्षण गरेपछि मात्र उद्घाटन गर्ने छौं ।’
पहिलाभन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको कम्पनीको भनाइ छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको सो मिनी पानीजहाजको निर्माण २०७५ बाट थालिएको हो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोडमाथि पुग्ने प्रबन्धनिर्देशक कँडेलले जानकारी दिए ।
क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ ।
क्रुज यात्रा सुरक्षित बनाउन दुईवटा इञ्जिन राखिएको छ । दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेसनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले क्रुजमा शक्तिशाली इञ्जिन राखिएकाले ढुक्कसँग यात्रा गर्न सकिने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
