‘भद्र सहमति’ ले काम नगरेकै हो ? अब व्यक्तिगत निक्षेपमा ब्याजदर तोक्न बैंक स्वतन्त्र
INVESTOPAPER, December 4, 2018
काठमाडौँ – व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा अबदेखि नलाग्ने भएको छ ।
नेपाल बैंकर्स संंघको मंगलबार बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरेको छ । संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैँ निर्धारण गर्न पाउने निर्णय गरेको जानकारी दिनुभयो । वाणिज्य बैंकले ‘भद्र सहमति’ भन्दै संघको निर्णयका आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेको थियो ।
बैंकमा ऋण दिने रकमको अभाव हुन थालेपछि संघको बैठकले निक्षेप बढाउनका लागि त्यस्तो निर्णय गरेको हो । अध्यक्ष ढुंगानाले भन्नुभयो, ‘व्यक्तिगत निक्षेपको हकमा बैंक आफैँले स्वतन्त्र हुने निर्णय गर्न सक्छन् ।’ यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो ।
संघले बचत खातामा भने सात प्रतिशतसम्म ब्याज दिन पाइने व्यवस्था रहेको छ । यस्तै संस्थागत निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति गरिएको थियो ।
