नयाँ लगानीकर्ता विशेष भाग १ः नेप्सेको वेबसाइटमा गएर के के हेर्न-जान्न सकिन्छ? कसरी उपयोग गर्ने।
दोस्रो बजारमा शेयर कारोबार गर्न इच्छुक हुनुहुन्छ भने नेप्सेको वेबसाइटको बारेमा जान्न अत्यन्त जरुरी छ। यस्तै प्राथमिक शेयरको कारोबार पनि तपाईले दोस्रो बजारमा नै गर्नुपर्छ। दैनिक शेयर कारोबार गर्न नेप्सेको वेबसाइट www.nepalstock.com वा www.nepalstock.com.np मा गएर वेबसाइटमा देखाइएका कुराहरु बुझ्न आवश्यक हुन्छ।
दोस्रो बजारमा शेयर कारोबार दिनको ११ बजे देखि ३ बजे सम्म अर्थात ४ घण्टा हुने गर्छ। यस्तै शुक्रबार र शनिबार शेयर बजार बन्द रहन्छ र सार्वजनिक विदामा पनि शेयर किनबेच हुँदैन। यस भागमा शेयर बजार खुल्ला रहेको बेला किनबेच गर्न कसरी वेबसाइट उपयोग गर्ने भनेर चर्चा गर्ने छौ।नेप्सेको लाइभ ट्रेडिङ वेबसाइटको डेक्सटप भिउ तल हेर्नुहोस्।

माथि देखाइए अनुसार नेप्सेको डेक्सटप साइटको माथिल्लो भागमा १० वटा मेनु र त्यसको मुनि आजको शेयर बजारमा कुन कम्पनी कतिमा कारोबार भईरहेको देख्नसक्नुहुनेछ। माथि देखाइए अनुसार दाहिनेबाट देब्रेतिर कुदिरहेको बारमा कम्पनीको सिम्बोल र मूल्य अनि ब्राकेटमा सोही समय सम्मको उक्त शेयरको कारोबार कित्ता र घटबढ मूल्य देखाइएको हुन्छ। उदाहरणको लागी माथि देखिएको HBL हिमालयन बैंकको सिम्बल हो जुन ५५३ रुपैयामा कारोबार भईरहेको छ र आज दुई रुपैयाले घटेको छ। हिमालयन बैंकको सो समय सम्म ५१० कित्ता शेयर कारोबार भएको छ भनेर थाहा हुन्छ।
यस्तै दाहिने पट्टीको माथिल्लो भागमा तपाईले कम्पनीको सिम्बोल हानेर त्यसको खोज गर्न सक्ने ब्यवस्था पनि छ। वेबसाइटको दाहिने भागमा मार्केट ओपन भनेर हरियो रंगको अक्षर देख्नु भयो भने शेयर बजारमा कारोबार खुल्ला छ भनेर जानिन्छ। रातो अक्षरमा मार्केट क्लोज देख्नु भयो भने बजार बन्दछ भन्ने थाहा हुन्छ।
त्यो भन्दा मुनि नेप्से सुचांक देख्न सक्नुहुनेछ। शेयर बजारमा रातो र हरियो रंगले घट-बढको संकेत गर्छ। रातो भए बजार हिजो भन्दा घटेको र हरियो भए बढेको थाहा पाउन सकिन्छ। माथिको अनुसार शेयर बजार ०.६३ अंकले घटेको छ। यस्तै मार्केट समरीमा तपाईले जम्मा कारोबार रकम, जम्मा शेयर कारोबार संख्या, कारोबार भएका कम्पनी संख्या आदि देख्न सक्नुहुनेछ।
अब दाहिने भागकै मुनि अझ तल हेर्नुभयो भने नेप्सेको ग्राफ देख्न सक्नुहुनेछ। फरक फरक समयमा नेप्सेको घटबढको बारेमा यो ग्राफले चित्रण गर्छ।
अब देब्रेतिर ध्यान दिनुहोस्। देब्रे भागको सबैभन्दा माथि स्लाइडसोमा तपाईले नेप्सेले जारी गरेका समाचारहरु हेर्न सक्नुहुनेछ। त्यो भन्दा मुनि शेयर बजारमा कारोबार गर्ने कम्पनीहरुले नेप्सेलाई जानकारी गराएका महत्वपूर्ण सूचना र नेप्सेका अन्य सूचनाहरु हेर्न सक्नुहुनेछ। माथि सोही भागमा नेप्सेले नेपाल इन्सुरेन्सको राइट लिस्ट गरेको र साइन रेसुंगा विकास बैंकले विशेष साधारण सभा बोलाएको जानकारी देखिन्छ। त्यसको बारेमा जान्न इच्छा भएमा तपाईले क्लिक गर्न सक्नुहुनेछ। नेपाली बजारमा शेयर कम्पनी सँग सम्बन्धित समाचारले धेरै नै प्रभाव पार्ने हुनाले यो भाग पनि महत्वपूर्ण छ।
अर्को भागमा हामी तपाईलाई नेप्से वेबसाइटमा रहेका १० वटा मेनुको कसरी उपयोग गर्ने बारेमा जानकारी दिने छौ।