भोगाई
–कल्पना आचार्य
तिम्रो मेरो भेट अब आकाशको तारा भयो,
अस्ती गयौ तर्किएर ,आज मौका त्यसै गयो ।
तिमीलाई चिन्न नसकेर, समयको दास भएँ ,
मनको बाढी फर्काइदियौ म त उठिबास भएँ ।।
हावा भित्र वेग बन्दै तिम्रै लागि दौडि आएँ,
आनीबानी बद्लिएछ तिमीलाई अर्कै पाएँ ।
अन्तिम सोधाई,तिम्रो दिलमा मेरो बास छ कि छैन ?
जिन्दगीका मोडहरुमा भेट्ने आस छ कि छैन ??
बास ,आस छैन भने अर्थै छैन मरिमेट्नु ,
अन्धभक्त जस्तो भई किन आफ्नै गला रेट्नु ?
मेरालागि मूर्दा जस्तो, भयो अब तिम्रो शहर ,
शहर बोकि आर्यघाटमा जान मलाई छैन रहर ।।
किन मेरो भावनामा यति धेरै खेलवाड गरेउ ?
शिर माथि स्थान दिए पैतालामा आफै झरेउ ।
समयले कोल्टे फेर्दा मतिष्कमा चल्छ छुरा ,
मैलै मौका दिएकै हो नलिनु चै तिम्रो कुरा ।।
तिमीलाई आफ्नो मानेदेखि तनाब मात्र सधैंभरी,
बुझेँ जगत राम्रै सँग, सबै लाग्यो आडम्बरी ।
आडम्बरी दुनियाँमा ध्यानमात्र उत्तम पाटो,
भोगाइबाट पाठ सिक्दै समात्नु छ यही बाटो ।।
ईटहरी, सुनसरी हाल — बागडोल ०४ ललितपुर