कविता : काेइली

— विष्णुहरि पौडेल

(छन्द शार्दूल विक्रीडित)

हेर्दा छैन कि सुन्दरी र हँसिली काली छ क्वैली चरी ।
रानी हो स्वर,राग,ताल,सुरकी खोल्छे गला माधुरी ।
नेपाली हरिया पहाड रुखका डाली चहार्छे पर ।
पाक्छन् काफल,ऐसलू तिदु,जता त्यै भेग उस्को घर ।।
(१)
खोल्छे कोकिल कण्ठ राग मनका माया,बिलौना चुनी ।
चौतारी नजिकै छ बस्छ बटुवा त्यै राग मीठो सुनी ।
क्वैलीले मन छाम्दछे पथिकको उस्कै कथा गाउँछे ।
आँसू झार्न लगाउँछे नयनका, संगीत जे गाउँछे ।।
(२)
हेर्ने दृष्टि हिमाल झैं छ उसको सङ्लो छटा कञ्चन ।
रातै लालिगुराँससङ्ग उसले गर्छे मनोरञ्जन ।
काली भन्न हुँदैन दुख्छ,उसले आँसू छचल्काउँछे ।
माया पोख्न सिपालु छे ‘कुहु(कुहू’ गाएर लोभ्याउँछे ।।
(३)
राम्रो रूप हुँदैन भित्र मनमा चाहिन्छ भन्छे गुन ।
राम्रो फूल त पारिजात,कहिल्यै छर्दैन वास्ना सुन ।
नेपाली बनिंदैन कोट सुकिलो दौरा र सुर्बालले ।
क्वैलीमा छ स्वदेश(प्रेम गहिरो,आँखा नहुन् गाजले ।।
(४)
अर्काको नगरेर नक्कल सँधै साँच्छे स्वदेशी मन ।
चोखो मौलिक भावना छ उसमा देखिन्छ आफ्नैपन ।
चेली त्यो परदेश ताक्तिन,बुटो कुर्छे यिनै पालुवा ।
माटोमा ममता छ प्यार उसको ढुङ्गा,गिटी,बालुवा ।।
(५)
जे पाक्छन् वनमा छ भोजन उही मागेर त्यो हिंड्दिन ।
पैसा दिन्छु भने नि गीत अरुका गाएर ऊ बिक्तिन ।
हेर्ने चाह छ देश भेष उसको पूर्वीय ज्योत्स्ना छरोस् ।
नेपाली मन पौरखी बनिरहून् दृष्टान्त आफ्नै बनोस् ।।
(६)
आफ्नै देश रमाइलो छ उसले आऊ यतै भन्दछे ।
पर्देशी अनुहारका दखलले तड्पी दुखी बन्दछे ।
मान्नै पर्दछ देश(भक्ति उसको,हामी बनौं सज्जन ।
अर्काको हुन हुन्न साँच्नु छ धरा उस्ले सुसेल्ने वन ।।
(७)

— विष्णुहरि पौडेल
२०७७,जेठ-१३, काठमाडौं ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *