किन घडीमा कम्पनीकाे डिफल्ट टाइम र विज्ञापनमा सधै १०ः१० बजाइन्छ ?
Investopaper, कार्तिक २१, २०७६
कम्पनीबाट घडी निकाल्दा एकै प्रकारकाे डिफल्ट टाइम सेट गर्ने चलन छ र त्यसै अनुरूप गरिएकाे हुन्छ । पत्रपत्रिका तथा अन्य ठाउँमा तपाइँले घडीका विज्ञापन त अनेक देख्नुभएकै छ होला । प्रायः त्यस्ता विज्ञापनमा देखाइने घडीमा घण्टा र मिनेट सुई १० बजेर १० मिनेट गएको गरी मिलाइएको हुन्छ ।

बिशाै शताव्दीकाे शरूमा ८ बजेर २० मिनेट गएकाे डिफल्ट टाइम सेट गर्ने चलन थियाे । तर सांकेतिक रूपमा दुखित चेहराकाे परिचायक भएकाे निर्क्याैल निकाल्दै ३० देखि ४० काे दशकमा १० बजेर १० मिनेटकाे समय सेट गर्न शुरूवात गरियाे र अध्यापि निरन्तर चलिरहेकाे छ ।
एप्पल वाचले भने १० बजेर ९ मिनेट ३० सेकेण्डकाे समय सेट गर्दछ र यसमा एप्पलकाे उसकै तर्क रहेकाे हुन सक्छ । अरू भन्दा एक स्टेप अगाडी भनेर अर्थ लगाउनेहरूकाे पनि कमि छैन । विश्व बिख्यात राेलेक्स, टाइमेक्स, टेग ह्यूअरकाे पनि केही सेकेण्डकाे फरक पारेकाे देखिन्छ । राेलेक्स १०.१०.३१, टाइमेक्स १०.१०.३६ र टेग ह्यूअर १०.१०.३७ सेट गरिएकाे हुन्छ ।

आखिर विज्ञापनको घडीमा किन १० बजेर १० मिनेट गएको देखाइन्छ त ? यसो गर्नुका केही कारण रहेछन् । त्यसमध्ये प्रमुख ५ कारण यस्ता छन्ः
१) १० बजेर १० मिनेटमा घडीका सुईहरु एक सन्तुलित स्थानमा हुन्छन् । मनोवैज्ञानिकहरुका अनुसार मानिसहरु सन्तुलित चिजहरु नै हेर्न मन पराउँदछन् । त्यसैले घडीको विज्ञापनलाई मनोवैज्ञानिक रुपमा आकर्षक बनाउन यस्तो गरिएको हुनसक्छ ।
२) १० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थिति हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्दछ । स्माइलीको आकृतिमा घडीलाई प्रस्तुत गर्न पनि यस्तो गरिएको होला ।
३) घडीमा १० बजेर १० मिनेटको समयमा सुईको अवस्थितिले भी आकार बनाउँदछ । भी भनेको विजय तथा जितको संकेत हो ।
४) १० बजेर १० मिनेटको अवस्थामा घडीका सुईहरुको जुन अवस्था हुन्छ त्यसले घडीको भित्री भागमा कुँदिएका ब्राण्ड नाम, कम्पनीको लोगो जस्ता चिजहरु छेक्दैन । त्यसैले पनि विज्ञापनमा कडीमा १०ः१० बजाइएको हुनसक्छ ।
५) कतिपय मानिसका अनुसार सबैभन्दा पहिले घडीको आविष्कार हुने बेलामा १० बजेर १० मिनेटको समय हुनसक्छ । त्यसैले उक्त समयलाई घडीको विज्ञापन चित्रमा पनि प्रयोग गरिएको हुनसक्छ ।
— एजेन्सी
