देउसी भैलोबाट ३२ लाख सङ्कलन

न्भेष्टाेपेपर । कात्तिक १७, २०८१

म्याग्दी ।  म्याग्दीको मालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा ३२ लाख ४४ हजार सङ्कलन भएको छ। तीन दिनको अवधिमा सो रकम सङ्कलन भएको हो। 

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरुपमा उक्त रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिनुभयो। उहाँका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका सात टोलका बासिन्दाले न्यूनतम रु २९ हजारदेखि अधिकतम १३ लाख १९ हजारसम्म दान गरेका छन्।

यही कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसी भैलोमा मालिका–७ बिमको  तल्लोगाउँ टोलबाट १३ लाख सहयोग प्राप्त भएको छ। त्यसैगरी बिमबाङ टोलबाट ११ लाख, डाँडागाउँ टोलबाट पाँच लाख, ढुनोट टोलबाट एक लाख७७ हजार, नौमाने टोलबाट ४३ हजार, अर्कला टोलबाट ३० हजार र इल्पु टोलबाट दुई हजार सहयोग जुटेको हो। आज देउसी भैलो कार्यक्रम  समापन गरिएको छ।

व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ। बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो। अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताउनुभयो। (रासस)  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *