रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी

न्भेष्टाेपेपर । मंसिर ८, २०८१

चितवन । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो । 

साहारा चितवन सहकारीका २४ बचतकर्ताले चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताए ।

चितवन प्रहरीका अनुसार लामिछाने र जोशीसँगै जीबी ग्रुप अफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपक लामा, स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालक भगवती बम्जन र नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सञ्चालक कविता तामाङ र रामबहादुर खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ती कम्पनीमा साहारा चितवनबाट नियमविपरीत रकम गएको पाइएको छ ।

लामिछाने र जोशी यसअघि नै पक्राउ परेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । उनीहरू पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमाथि अनुसन्धानका क्रममा पक्राउ परेका हुन् । यसबीचमा बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा रूपन्देही प्रहरीले उनीहरू दुवैमाथि बयान लिइसकेको छ ।

काठमाडौं प्रहरीले पनि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जोशीमाथि बयान लिइसकेको काठमाडौं प्रहरीले लामिछानेलाई झिकाउने तयारी गरिरहेको छ । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *