पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल वितरण

न्भेष्टाेपेपर । फागुन १०, २०८०

काठमाडौँ ।  पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टीफाइड राइसं) वितरणको प्रक्रिया शुभारम्भ गरिएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले बुधबार कार्यक्रम आयोजना गरेर स्तरोन्नति गरिएको चामल वितरण कार्यक्रमको शुभारम्भ गरेको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सो चामल कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण गरिने भएको छ । 

कम्पनीको सुर्खेत प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रणले पाँच वटै जिल्लामा स्तरोन्नति गरिएको चामल पठाइसकेकाले एक दुई दिनभित्रमा वितरण कार्य सुरु गरिने जानकारी दिनुभयो । बजार मूल्यमा सो चामलको वितरण गरिने उहाँले जानकारी दिनुभयो । 

एक वर्षमा ७३ हजार क्विन्टल चामल वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । सूरुमा कर्णालीका पाँच जिल्लासँगै क्रमिक रूपमा अन्य जिल्लामा पनि विस्तार गरिने उहाँले जानकारी दिनुभयो । कुपोषण न्यूनीकरण गर्नका लागि स्तरोन्नति गरिएको चामल वितरण सुरु गरिएको कम्पनीले जनाएको छ ।

 विश्व खाद्य कार्यक्रमको प्राविधि र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी गर्न लागिएको कम्पनीले जनाएको छ । स्तरोन्नति  गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बि–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ । यो चामलको प्रयोगले बाल मृत्यृदर कम गर्न मद्दत पुग्ने बताइएको छ । खाद्य कम्पनीले बर्दियास्थित राजपुर र धनुषा स्थित रहेको चामल मिलमा चामल पौष्टिक तत्व  स्तरोन्नति गर्न आवश्यक पर्ने  मेसिनरी तथा अन्य सामग्री विश्व खाद्य कार्यक्रमको सहयोगमा जडान गरी उत्पादन सुरु भइसकेको  कम्पनीले जनाएको छ ।

स्तरोन्नति गरिएको चामल दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खजिनको मिश्रणलाई चामलको पिठोमा मिलाई एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ्ग हुने गरी उत्पादन गरिन्छ ।  

दोस्रो चरणमा अन्य जिल्लामा समेत वितरण गरिने भएको छ । खाद्य विज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासु, दुधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुन्छ । 

चामलको गुणस्तरसम्बन्धी मापदण्ड अनुसार स्तरोन्नति गरिएको चामलमा प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलि, जिङ्क ३२ देखि ५९ मिलिग्राम, भिटामिन ए ०.८९ देखि २.२१, फोलिक एसिड ०.२४ देखि ०.५९ र भिटामिन बी–१२ भने ०.००७ देखि ०.०२० मिलिग्राम हुने पर्ने छ । 

पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिङ्क स्रोतका लागि जिङ्क अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बि–१२ को स्रोतका लागि साइनोकोबलामाइन जस्ता यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ । निकट भविष्यमा निजी क्षेत्रबाट समेत पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्न व्यवस्था मिलाइने बताइएको छ । 

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्यको सिकार भइरहेका छन् । नेपालमा कुपोषणको दरमा सुधार आइरहेकोे अध्ययनले देखाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *