नेपालमा पहिलाे पटक नयाँ प्रविधिबाट मुटुको शल्यक्रिया

न्भेष्टाेपेपर ।  फागुन २५, २०८१

काठमाडौँ ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मिलिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । महाराजगन्जस्थित मनमोहन सेन्टरका कार्डियोथोरासिक तथा भास्कुलर (सिटिभिएस) विभागीय प्रमुख एवं वरिष्ठ मुटु शल्यचिकित्सक डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया भएको हो । 

एमआइसिएबिजी प्रविधि मुटुको नसा ‘ब्लक’ हुँदा सानो प्वाल पारेर गरिने उपचार प्रविधि हो । मुटुको ब्लक खोल्दा पहिले पूरै छाती चिरेर गरिन्थ्यो भने यो प्रविधि करङको बिचबाट प्वाल पारेर गरिने नयाँ र सर्वसुलभ प्रविधि हो । मुटुको शल्यक्रिया पहिले पहिले १२ सेन्टिमिटरको प्वाल पारेर हड्डी काटेर गरिन्थ्यो भने अहिले पाँच सेन्टिमिटरको सानो प्वाल पारेर शल्यक्रिया गरिन्छ । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले एमआइसिएबिजी प्रविधिको प्रयोग नेपालमा पहिलो पटक भएको दाबी गर्नुभयो । “योभन्दा अगाडि मुटुको शल्यक्रिया गर्दा यो प्रविधि थिएन,” उहाँले भन्नुभयो, “एमआइसिएबिजी प्रविधिबाट शल्यक्रिया गर्दाका फाइदा धेरै छन् ।” 

डा. भट्टराईले पहिले पहिले मुटुलाई बन्द गरेर शल्यक्रिया गरिने जानकारी दिँदै त्यसबाट अन्य अङ्गलाई समेत असर पर्न सक्ने सम्भावना हुने गरेको बताउनुभयो । “अब मुटुलाई बन्द गर्नु पर्दैन,” उहाँले भन्नुभयो, “नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा रगत आउँदैन, बिरामी छिट्टै डिस्चार्ज भएर घर जान पाउँछ ।”

उहाँले बिरामीलाई अन्य सङ्क्रमण हुने डर नहुने भन्दै नयाँ प्रविधिबाट शल्यक्रिया गर्दा पहिलेभन्दा झन् सस्तो पर्ने जानकारी दिनुभयो । डा. भट्टराईका अनुसार म्याग्दे गाउँपालिका तनहुँका ४५ वर्षीय पुरुषमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको हो । 

अस्पतालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले मिनिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआइसिएबिजी) प्रविधिबाट गरिएको शल्यक्रिया नेपालमै पहलो पटक भएको जानकारी दिनुभयो । यो प्रविधिबाट शल्यक्रिया गर्दा उपचार खर्च कम लाग्ने उहाँको भनाइ छ । डा. गजुरेलले नयाँ प्रविधिबाट मुटुको शल्यक्रिया गरिएका व्यक्तिको चार वर्षअघि साउदी अरबमा ७० प्रतिशतभन्दा बढी मुटुको नसा बन्द भएको पत्ता लागेको बताउनुभयो । साउदीमा मुटुको नसा खोल्दा स्टेन्टिङ गरिएको जानकारी दिँदै त्यो नसा पुनः बन्द भएको र उपचार गर्न नेपाल फर्किएको बताउनुभयो । उहाँले यस प्रविधिमा परम्परागत रूपमा गरिने ओपन हार्ट शल्यक्रियामा जस्तो बिरामीको छातीमा ठुलो घाउ बनाउन नपर्ने बताउनुभयो ।  डा. भट्टराईले हाल बिरामीको अवस्था सामान्य रहेको र बिरामीलाई आइसियुबाट वार्डमा सारिएको जानकारी दिनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *