कविता : कठै हाम्रा काँध !
— बुँद राना
बोक्नु पर्ने त जिम्मेवारी हो ,
सिनो बोक्न विवस छन् !
कठै हाम्रा काँधहरू !
खाला गए पनि !
बोकी बोकी
हत्तु हाला भए पनि
बोक्न छाडेका छैनन् सिनो !
लाग्छ काँध भनेकै
सिनो बोक्नका लागि हो !
कतै गाह्रोसाङ्ग्रो पर्दा
थापिनु पर्ने काँध
सिनो बोक्नमै छ मस्त !
अभिशप्त !
कर्तव्य निर्वाहमा छ व्यस्त !
गज्जब छ
सिनो देख्तैन आँखाले !
न त नाकले नै भन्छ –
सिनो गह्नायो !
सद्दे शरीरका यी अंग
कामै नलाग्ने भएछन् !
किन ? कसरी ? कल्ले ?
अनुत्तरित छन् – प्रश्न
तर उब्जिन्छन् , उब्जिनै रहनेछन्
बेलामौका केंकुली कस्न !
घटाउ र जोडमा
भन्नै पर्दा निचोडमा
जिन्दगी छ दोसाँधमा !
सिनो मिल्काउने ?
वा
स्वयंलाई सिध्याउने ?
………………………………
सिनो बोकी हिंडेका छौं काँधमा !!
