कविता : सञ्जीवनीका वन

— विष्णुहरि पौडेल

छन्द :- शार्दूलविक्रीडित

खानीको घर हो धरोहर बुझे के छैन खोजे तर।
यी डाली हरिया मुना वनबुटी ठान्दै गयौं पत्कर।
हाडे ओखर झैं छ गूढ गुनिलो हाम्रो धराको धन।
हेर्दा घाँस,बुझे सबै अमृत छन् सञ्जीवनीका वन।।
****
भन्छन् डाक्टर खालि खान हरियो खै ध्यान खै जाँगर ।
जिब्रो मांस,चिनी रुचाउँछ मुला के रुच्दथ्यो गाजर।
लौका,साग छ पथ्य रुच्छ र कहाँ गर्छन् खुबै गन्गन।
हाम्रा जैविक खाद्य स्वस्थ हरिया सञ्जीवनीका वन।।
****
खोज्छन घ्यू,मह खान मानिस सबै भर्दिन्छ रे तागत।
बोसो वा मधुमेहका घर दुबै दिन्छन् भरे आपत।
कैलयै दुष्ट हुँदैन वेश अमला, हर्रो छ टर्रो जुन।
तीतो लाग्छ जटामसी,अमृत छन् सञ्जीवनीका वन।।
****
दूबो,घाँस गणेशको प्रिय छ यो,श्रीविष्णुको पीपल ।
मान्दैनन् शिव वेलपत्र नदिए अर्पेर गंगा(जल।
प्यारी राम र कृष्ण निम्ति तुलसी दिन्छिन् मनोरञ्जन।
हेर्दा घाँस,बुझे सबै अमृत छन् सञ्जीवनीका वन।।
****
बाट्छन् तोरण आँप,पीपल उनी राख्छन् घडामा पनि ।
देवर्षि(प्रिय पारिजात,कुश छन् विज्ञान(विद् हुन् मुनि।
खान्छन् शंकर भाङ हो शिव(बुटी, श्रीखण्ड हृत् चन्दन।
नेपाली हरिया पहाडभरि छन् सञ्जीवनीका वन।।
****
लक्ष्मी वास गरेर पद्म(दलमा गर्छिन् सदा मंगल।
गुम्पाती,असुरो बुटी फुलिदिने नेपालको जंगल।
द्यौताले पनि रोज्दछन् वन(बुटी आरोग्यका साधन।
उद्योगी हुन प्रेरणा थपिदिने सञ्जीवनीका वन।।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *