कबिता : ‘कर्मचारी’

— रविलाल पन्थ

छन्द :- मन्दाक्रान्ता

मेचीकाली, श्रम र पसिना ,छर्कने कर्म मानी ।
नेपालीका, सुख र दुखमा ,खर्चने जिन्दगानी ।।
सेवाश्रद्धा, सबतिर दिने ,चाहिने ठिक्क पारी ।
हो सर्कारी ,प्रतिनिधि बनी ,आउने कर्मचारी ।।

—- +++ —- +++ १ +++ —- +++ —-

जाडो गर्मी, कहर सहदै, धाउने काम दिक्क ।
जम्माजम्मी ,दशदिन हुने, पाउनेदाम ठिक्क ।।
पेशा अर्को ,थप गरुँ भने ,कानुनै रैछ कर्रो ।
के हुन्थ्यो यो ,मधुर रसको, नोकरी हेर टर्रो ।।

—- +++ —- +++ २ +++ —- +++ —-

ठूला भन्ने, छिनछिन नयाँ ,अर्तिले पेल्न खोज्छन्।
चन्दा धन्दा ,शरम थपिने ,बैज्ञुनी खेल रोज्छन् ।।
जन्ता भन्छन्, भरसक छिटो, गर्दिए काम हाम्रो ।
सेवा गर्दा ,अलिकति ढिला, भैगए हुन्न राम्रो ।।

—- +++ —- +++ ३ +++ —- +++ —-

हाकिम् भन्छन्, नियम नमिची ,गर्दिनु पर्छ काम ।
दोषी हुन्छौँ, सजग नहुदा ,भ्रष्टमा मिल्छ नाम ।।
कस्को भाषा ,बुझिकन गरौँ ,मान कस्को सपारौ ।
यो हैरानी, नगरन भनी ,देवता कुन् पुकारौ ।।

—- +++ —- +++ ४ +++ —- +++ —-

भाडा माग्छन्, अनि घरधनी, शर्त नै शर्त थप्छन् ।
ढोका गल्ली ,वरिपरि घुमी ,रोषको राग जप्छन् ।।
आयो बिध्यालय बिल लिई ,शुल्क बाँकी छ तिर्न ।
खाता हेर्दै, पसलधनिले ,थाल्दछन् फेरि पिर्न ।।

—- +++ —- +++ ५ +++ —- +++ —-

बाबाआमा ,पनि खुश हुनन् ,सम्झिँदा पुग्न पाए ।
चोलो दौरा ,नरिबल सगै ,पाउमा ढोग्न पाए ।।
गर्जो पर्जो ,इलम पनि द्यौ, भन्दछन् इष्टनाता ।
फर्के आफ्ना, दिन अब भनी ,ठान्दछन् मुक्तिदाता।।

—- +++ —- +++ ६ +++ —- +++ —-

पत्नी भन्छिन् ,दिनहुँ यसरी, काममा रात पार्छौ ।
आफै रोगी, नसकि दुखले ,खैर के नाम राख्छौ ।।
छोरा छोरी ,मलिन मुखले ,आशको दीप बाले।
भन्छन् हामी ,पनि घर किनौँ ,संगिले हेप्न थाले।।

—- +++ —- +++ ७ +++ —- +++ —-

खै के रोजौँ, पहिरन नयाँ ,गासको छैन टुङ्गो ।
खै के खोजौ ,ढकमक जुनी, आशको छैन थुङ्गो ।।
खै के पारौँ ,मनपनि उचो, देखिने तेज सानो ।
खै के साचौँ ,पछि सुख भनी, आजनै छैन मानो ।।

—- +++ —- +++ ८ +++ —- +++ —-

को बुझ्ला खै ,लय न सुरको, निस्कने यो अलाप ।
को जान्ला खै ,तन मुख पढी, भित्रको यो बिलाप ।।
हासेको हो ,बिचलित नभै ,भाग्यमा दोष सारी।
खप्की खेप्ने, अपजश लिने ,पात्रभो कर्मचारी ।।

—- +++ —- +++ ९ +++ —- +++ —-

— सन्दर्भ : निजामती सेवा दिबस भाद्र- २२, २०७७

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *