कविता : समयको आवाज
— मेनुका चापागाईं “मेनू”
छन्द :- शार्दूलविक्रीडित
धर्ती एक, अनेक भाग यसरी पारेर लड्छौ किन ?
हाम्रो स्वर्गबगान हिंस्रक बनी मैलो बनायौ किन ?
गोजी भर्न नबेच देश ढुकुटी यो दाइजो हो भनी
तिम्रा कारणले नहुन् अझ कतै भाला छुरा रन्थनी ।
वार्ता शान्ति गरी अझै किन तिमी गर्छौ कुरा युद्धको
माटोको ममता भए हृदयमा बाटो लिनू बुद्धको !
पेटीका, पथका न घाट घरका सम्झी सबै सन्तति
बाडौँ गाँस गरी दया र ममता देखेर यो दुर्गति ।
ढुङ्गो पग्लिन सक्छ है जलनले पग्लिन्न मान्छे तर
पैसाकै बलले मनुष्य बनियौ पाषाणभन्दा पर
यो चोला छ तयार सुत्न पथमा निर्लज्ज भोको बनी
बेची किन्तु कदापि खान्न जननी भोकै परे तापनि ।
कुर्सीयुद्ध गरी सधैँ सृजनका मौका गुमायौ भने
वैरीसामु अझै परी शरणमा गोडा समायौ भने
कालो रात अवश्य आउँछ यहाँ वैरी छ लुट्ने घर
यस्तो विघ्न नहोस् विचार गर है ! वेला नपुग्दै पर ।
झुप्रोसम्म कदापि हुन्न बलियो सन्तान फुट्दै गए
सिङ्गो राष्ट्र जुरुक्क उठ्छ सजिलै सन्तान जुट्ने भए ।
भाषा, धर्म र जातिका सय थुँगा साथै हिँडेनौँ भने
हाम्रानिम्ति प्रभात हुन्छ कसरी रातै चिरेनौँ भने ?
जाली भ्रष्ट निमोठ्न बन्दुक भिरी गोली नभर्नू अब
सक्छौ शब्द बजार्न लौ कलमका गोली चलाऊ अब ।
हुन्छ्न् शोषक नष्ट यी कलमले गोली बजार्दै गरे
जागौँ सत्त्व बचाउने दसगजा आधार खोज्दै छ रे ।
२०७३।१२।०२
