मिथिलामा जितिया पर्वको तयारी

न्भेष्टाेपेपर । असाेज १६, २०८०

महोत्तरी ।  महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सो¥हश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितिया पर्वका  लागि तयारीमा जुटेका  छन् । यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रबार परेको छ ।

असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु आमाहरू आफ्ना सन्तान सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् । केही वर्ष पहिलेसम्म यो पर्व छोराको कल्याणका लागि गर्ने गरिएकामा अहिले सबै  सन्तानका लागि गरिने व्रतको भन्न थालिएको छ । अब ‘पुत्रवती आमा’ हैन ‘सन्तानवती आमा’ ले गर्ने व्रत भन्न थालिएको पर्वको तयारीमा रहेका नयाँ पुस्ताका मिथिलानी आमा बताउँछन् । पुत्रका लागि भनिनु पुत्रीप्रतिको विभेद भएको हुँदा यो छोरीप्रतिको उपेक्षा सच्याइँदै अब सन्तानका लागि भन्न लागिएको उनीहरूको भनाइ छ ।  

“यो सन्तानको कल्याणको कामनाका लागि गरिने व्रत हो, मेरा छोरा छैनन् , दुई छोरी छन्, म यिनकै लागि व्रतको तयारी गर्दैछु” भङ्गाहा–४ की रश्मि चौधरी थारु भन्नुहुन्छ । 

मिथिलामा रैथाने सबै जातजातिले यो पर्व मनाए पनि थारु बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारु बस्तीमा जितियाका लागि घर रङ्गरोगन र लितपपोत पितृपक्ष सुरु हुनासाथै गरिन्छ । घरैघर देखिने उक्त बस्तीमा घर सफा गरेर  अन्य तयारीका लागि भएको व्यस्तताले यो पर्वका लागि  केही दिन पहिलेदेखि रौनक छाउने गरेको हो ।

केही वर्ष पहिलेसम्म छोराका लागि कठोर व्रत बस्दै आएका पुरानो पुस्ताका आमा पनि अब नयाँ पुस्ताका छोरी÷बुहारीसँग सहमत हुँदै सन्तानका लागि भन्न थालेका छन् । “हँ , पहिने बेटाक लेल कहायत छल इ पावैन, मुदा आब हमसभ बेटाबेटी सबके लेल करैछी” बर्दिबास–९ पशुपतिनगरकी रासवती महतो बताउनुहुन्छ ।

मेरा छोराछोरीले कसैको बिगार गर्दैनन्, भगवान्को आशीर्वादले उनीहरूले परोपकारी काममा मन लगाउनेछन् भन्ने भाव व्रतालु महिलामा भेटिन्छ । पछिल्ला केही दशकयता लैङ्गिक विभेदविरुद्ध घनिभूत आवाज उठ्दै आएपछि परम्परागत चाडपर्वमा लादिएका विभेदपूर्ण मान्यता सच्चिँदै गएका भङ्गाहा–९ की सामाजिक कार्यकर्ता किरण यादव बताउनुहुन्छ । 

पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिमा व्रत गरिन्छ । अष्टमी सकिएर नवमी लागेपछि एक घडी कटाएर व्रत समापन गरिन्छ । छोड्दो अष्टमीका दिन अहोरात्र व्रत बसिने यो पर्वको ‘ओगटन’ अष्टमी तिथि सुरु हुन एक घडी पूर्व नै खाइसक्नु पर्छ  तर एक अहोरात्र पूरा व्रत बस्नुपर्ने हुँदा यसपालि बिहीबार मध्यरातपछि ९राती १२ बजेसँगै ० व्रत सुरु गर्नुपर्ने सम्बद्ध पुरोहितको भनाइ छ । यो व्रत कहिलेकाहीँ ४० घण्टाभन्दा बढी भएको पाका मिथिलानी बताउँछन् । ‘ओगटन’ मा दहीचिउरा खाने चलनले अहिले मिथिला बस्तीमा जितियाकै लागि शुद्ध दूधको जोहो गर्न थालेका छन्  ।

यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै हुँदै आएको हो । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्न, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा मार्न र झारपात चुँड्न नहुने धार्मिक मान्यता छ ।  आउँदो शुक्रबार बिहान साढे नौ बजेअघि नै अष्टमी तिथि सुरु हुने हुँदा त्यसको ‘ओगटन’ ९दर० मध्यरातअघि खाइसक्नु पर्ने हुन्छ । निराहार व्रत बस्ने महिलाले शनिबार बिहान साढे १० बजेअघि नवमी लागेपछि त्यसको एक घडी कटाएर व्रत समापन गर्नेछन् । यस हिसाबले यसपालि झण्डै ३५ घण्टाको व्रत बस्नुपर्ने देखिन्छ ।

“सन्तानको दीर्घजीवी, सौर्यबृद्धि र कल्याणको कामना गर्दै आमाले बस्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर बढ्ने जनविश्वास छ” धार्मिक कर्मकाण्डका ज्ञाता झा भन्नुहुन्छ, “कुनै मानिस लुरे, डरछेरुवा वा हुतीहारा देखिए यसका लागि आमाले जितिया व्रत गर्छिन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।” मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्ता बुझ्न सकिने उहाँ भनाइ छ ।

पुत्रको कल्याण र सौर्य वृद्धिको कामना पूरा गराउन मिथिलानी यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण पनि गर्छन् । यस व्रतमा पुरुषहरुले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरूले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको भङ्गाहा नगरपालिका—६की  रामवती चौधरी बताउनुहुन्छ ।

यस पर्वमा सप्तमीका दिन बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ्य दिएर व्रतको सङ्कल्प गरिन्छ । व्रर्तालुुले दिवङ्गत सासू, जेठानी, बुढीसामु, नन्द—आमाजू र तीन पुस्ता भित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडश मातृका श्राद्ध’ पनि भन्ने गरिएको छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजीवनको आशीर्वाद मिलोस् भन्ने कामना गरिन्छ ।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका  पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् ।

राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा उल्लेख भएकाले यसको थालनी द्वापरयुगमै सुरु भएको हुनसक्ने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका उपप्राध्यापक मनोज झाको भनाइ छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *