कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान राेक्याे

न्भेष्टाेपेपर । मंसिर १९, २०८१

भैरहवा ।  दैनिक व्यावसायिक उडान गर्दै आएको कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान रोकेको छ । 

एक महिनाको उडान अनुमति लिएर दोहा–भैरहवा–काठमाडौँ–दोहा दैनिक एउटा उडान गरेको कतार एयरवेजले आफ्नो उडान स्थगित गरेको हो । गत कात्तिक २७ गतेदेखि कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० मार्फत व्यावसायिक उडान गरिरहेको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदकुमार राउतका अनुसार कतार एयरवेजले गौतम बुद्ध विमानस्थलमा उडान भर्न मङ्सिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि उसले अनुमति लिएको छैन । राउतले भन्नुभयो, “पहिला लिएको अनुमति सकिएको छ । फेरि अनुमति नलिँदा आइतबारदेखि उडान रोकिएको हो ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवाबाट मङ्सिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेस गर्न ईमेलमार्फत पत्राचार गरेको थियो । कतार एअरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । उहाँले भन्नुभयो, “कतार एयरवेजले मङ्सिर १५ गतेसम्म मात्र उडान अनुमति लिएकाले भैरहवाबाट एयरवेजको उडान रोकिएको हो ।”

आफूहरूले भैरहवाबाट उडानका लागि कतार एयरवेजसँग समन्वय गरिरहेको र उडानको अपेक्षा लिइएको सहप्रवक्ता भुलले बताउनुभयो । “कतार एयरवेजले अनुमति लिँदा २०८१ चैत १६ गतेसम्म अनुमति लिनुपर्ने हो तर कात्तिक २७ गतेदेखि मङ्सिर १५ गतेसम्म मात्र अनुमति लिएको थियो,” उहाँले भन्नुभयो, “उक्त समयावधिको अनुमति लिँदा एयरवेजले पछि अवस्था हेरेर समय थप गर्ने भनेको थियो तर अहिलेसम्म थप अनुमतिका लागि प्रस्ताव गरेको छैन ।”

उक्त समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । जसमार्फत ९३ जना यात्रु मात्र भैरहवा झरेका छन् भने एक हजार २०३ यात्रु दोहाबाट भैरहवा ट्रान्जिट भएर काठमाडौँ अवतरण गरेका छन् । यसबिचमा दोहा जानका लागि भैरहवाबाट एक जना पनि यात्रु नचढेको भैरहवा विमानस्थलको तथ्याङ्कले देखाएको छ ।  हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले तत्काल सरकारले कतार एयरलाई नियमित गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *