भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

न्भेष्टाेपेपर । असाेज २६ २०८०

राँझा । नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । 

नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूर्र्ति बनाउन भ्याइनभ्याइ छ । नगरभवन सामुन्नेमा अस्थायी टहरा निर्माण गरेर उनले एक महिनादेखि मूर्तिको काम गर्दै आएका छन् । घटस्थापनाको दिनसम्म माग आएका सबै मूर्र्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उनले बताए । 

“तीस पैतीस जति मूर्ति तयारी अवस्थामा छन् अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याइ छ”, कलाकार केवटले भने, “आजभोलि मूर्ति किन्न भारत जानुपर्दैन नेपालगञ्जमै ठाउँठाउँमा बन्ने गरेका छन् ।”

उनका अनुसार, सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्र्ति बनाउने गरिन्छ । तर मूर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैँको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफैँ बनाएर बिक्री गर्ने गरिएको छ ।

बाँकेको जानकी गाउँपालिका–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिनरात उनी माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त हुन्छन् । नेपालगञ्ज–कोहलपुर सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरिभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका छन् । उनको यो पुख्र्यौली पेसा हो ।  

बाँकेको जानकी गाउँपालिकाबाहेक सदरमुकाम नेपालगञ्जमा पनि तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्र्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा–दसैँको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवान्को मूर्तिमा पूजा गर्ने चलन छ ।

“पहिला घरमा सानो–सानो मूर्ति बनाउँथ्यौँ पछि ठूलो बनाउन लागेँ । दुर्गा मातालगायत सबै प्रकारको मूर्ति बनाउने गरेको छु”, हरिजनले भने, “नवरात्रको बेला सिजन हो । पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ । मेहनत धेरै छ ।”

उनका अनुसार रु २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । हरिजनले आफूजस्तै अन्य छ जनालाई रोजगारीसमेत दिएका छन्। उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका–८ रानी तलाउ नजिकै मूर्र्ति बनाउँदै आएका सन्दीपकुमार वंशकारले डेढ महिनाअघिदेखि माटोबाट तयार पारिएका देवीदेवताको आकृतिमा यतिबेला रङरोगन गर्न भ्याइनभ्याइ भएको बताए । 

उनका अनुसार, यतिबेला कालीगढ मूर्तिरुमा देवदेवीका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको रङरोगनमा व्यस्त छन् । दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, राँगा, सर्प र देवीदेवताका मूर्ति तयार भएका छन् ।

दुर्गा भगवती, बाघ, भैँसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका मूर्ति बानउनका लागी एक महिना अगाडि बुक गर्ने गरेको वंशकारले जानकारी दिए । मूर्तिको लागि चाहिने औजार र सजावटका सामग्री भारती बजार रुपैडिहाबाट खरिद गरी ल्याउने गरिएको छ । बाँकेको सदरमुकाम नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्थिको माग बढ्दै गएको पाइएको छ । 

बाँकेमा माटोबाट मूर्र्ति बनाउने मूर्तिकार सङ्गठित हुन सकेका छैनन् । यसका कारण मूर्र्तिको दर मूल्यमा पनि एकरुपता छैन । “सबैले आ–आफ्नै तरिकाले मूर्र्ति बिक्री गर्ने गरेका छौंँ, चिने जानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, नेपालगञ्ज–७ फुल्टेक्राका मूर्तिकार मुकेश गुप्ताले भने, “धेरैजसो रेगुलर ग्राहक छन् तर चिनेको आधारमा एकजनालाई छुट गर्दा धेरैजनासँग घाटा खानुपरेको छ ।” (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *