लगानी सम्मेलन : ऊर्जा परियोजना सम्बन्धी ६ सम्झौता
लगानी सम्मेलनमा ऊर्जा परियोजनासम्बन्धी लगानीकर्ता (प्रवर्द्धक) र सम्बन्धी पक्षबीच ६ सम्झौता भएका छन् । सम्झौता कार्यान्वयन भए नेपालमा २ हजार ७ सय ७० मेगावाट विद्युत् आयोजनामा लगानी जुट्नेछ ।
ऊर्जा आयोजनाहरूमा मौखिक प्रतिबद्धता जनाउने, इच्छा देखाउने थप लगानीकर्ताहरू पनि देखिएका छन् । नेपालमा राजनीति, आर्थिक तथा कानुनी व्यवस्थाहरू सुधारउन्मुख रहेको र लगानीको वातवरण बन्दै गएको भन्दै नेपालको समृद्धिको मुख्य क्षेत्रमा ऊर्जामा लगानी गर्ने लगानीकर्ताहरूले विशेष रुचि उनीहरूको अभिव्यक्तिबाट देखिएको छ ।
तल्लो अरुण र माथिल्लो त्रिशूली–२ पावर चाइनाले बनाउने
माथिल्लो मर्स्याङ्दी ए (५० मेगावाट)को निर्माण गरेको पावर चाइनाले नेपालका थप दुई जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ६ सय ७९ मेगावाटको तल्लो अरुण र १ सय २ मेगावाटको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजना निर्माण भएको हो । लगानी सम्मेलनमा सहभागी पावर चाइनाका जनरल म्यानेजर सोङ दोङ सेङले दुई आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
१ खर्ब ४५ अर्ब लगानी हुने अनुमान रहेको तल्लो अरुण हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी(एचआइडिसिएल)सँगको सहकार्यमा पावर चाइनाले निर्माण गर्ने भएको हो । यसका लागि एचआइडिसिएल र पावर चाइनाबीच समझदारी–पत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।
अरुण तेस्रोमा ३ बैंकको लगानी
भारतको सरकारी कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो
जलविद्युत् आयोजनामा ३ बैंकले ऋण लगानी गर्ने सम्झौता गरेका छन् । स्टेट
बैंक अफ इन्डिया(एसबिआई)ले ६५ अर्ब ६० करोड, एभरेस्ट बैंकले ८ अर्ब १२ करोड
र नबिल बैंकले ४ अर्ब ८७ करोड ऋण लगानी गर्ने सम्झौता भएको हो । आयोजनामा १
खर्ब १२ अर्ब २८ करोड लगानी अनुमान गरिएको छ ।
तीन कम्पनीले कालीगण्डकी गर्ज बनाउने
चीनको सांघाई इन्भेस्टिगेसन, डिजाइन एन्ड रिसर्च इस्टिच्युट कम्पनी
लिमिटेड, युनान सिन्ह्वा वाटर कन्जभेन्सी र हाइड्रो सोलुसन्सबीच १६४
मेगावाट कालीगण्डकी गोर्ज जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने गर्ने
सम्झौता भएको छ । यो आयोजनामा झन्डै ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ
।
सिजीले सौर्य उर्जाको एसेम्ब्ली प्लान्ट बनाउने
अमेरिकाको स्काइ पावरसँगको साझेदारीमा सिजी इन्फ्रास्टक्चर प्रालिले देशभर
६०० मेगावाट सौर्य ऊर्जा विकास गर्ने भएको छ । साथै, उसले नेपालमा सोलार
इनर्जीको एसेम्ब्ली प्लान्ट पनि लगाउनेछ ।
६ सय मेगावाटमध्ये २ सय मेगावाटको सोलार आयोजना प्रदेश २ मा निर्माण गर्ने सम्बन्धी सम्झौता सिजिले गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र कम्पनीका प्रबन्ध निर्देशक चौधरीले सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
माथिल्लो त्रिशूली–१ मा ६५ करोड डलरको सम्झौता
कोरिया साउथ इस्ट पावर कम्पनी लिमिटेड(कोसेप)ले माथिल्लो त्रिशूली–१ मा ६५
करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेको छ । कोसेपका उपाध्यक्ष हक विन
किम र लगानी बोर्डबीच माथिल्लो त्रिशूली–१ २१६ मेवगावाटमा ७१ अर्ब
रुपैयाँभन्दा बढीको उक्त रकम अमेरिकी डलरमा लगानी गर्ने सम्झौता भएको हो ।
कम्पनीले आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा
सो रकम लगानी गर्ने भएको हो ।
अपी पावर र कँडेल ग्रुप अफ कम्पनीबीच सम्झौता
अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनीज् युकेबीच ९६ मेगावाट जलविद्युत्
आयोजना, १८ मेगावाट सौर्य ऊर्जा आयोजना र १० मेगावाटको वायु ऊर्जा आयोजना
विकास गर्ने सम्झौता भएको छ । सम्झौता–अपि पावरका अध्यक्ष गुरुप्रसाद
न्यौपाने र कँडेल गु्रपका अध्यक्ष राजेन कँडेलले हस्ताक्षर गरे ।
डोल्मा फन्डको ब्याट्री स्टोरेज परियोजना
१ सय ५० मेगावाटको ब्याट्री स्टोरेज परियोजनामा डोल्मा इनर्जीले लगानी
गर्ने भएको छ । स्वच्छ ऊर्जामा लगानी गर्ने गरी सम्झौता भएको फन्डका प्रमुख
कार्यकारी सन्दीप साहले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।
