जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
इन्भेष्टोपेपर । असार १५, २०७८
असार ११ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले माैजुदा नियमानुसार छिटो अवधि असार १५ गतेसम्म (चार कार्यदिन) र माग बमोजिम आवेदन नपरेको खण्डमा भने असार २५ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो । आइतवार साझसम्म मागभन्दा १२ गुणा बढी आवेदन परिसकेको जनाइएकाे छ ।
कम्पनीले नियमानुसार शून्य दशमलव पाँच प्रतिशत संस्थाका कर्मचारीहरूका लागि र पाँच प्रतिशत सामुहिक लगानी काेषहरूका लागि छुट्याएर बाँकि रहेकाे १८ लाख ४८ हजार १५ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि विक्री खुला गरेको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६/७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।
