अब हजारको नोटमा हात्तीकाे ठाउँमा जुम्ल्याहा हात्ती राम- लक्ष्मणको पोट्रेट तस्बिर
Investopaper, असाैज ०२, २०७६
काठमाडौं — हजारको नोट अर्थात् सजिलो भाषामा- ‘हात्ती’ तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ- के ‘यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन। बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन्। विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ- हात्ती नै फेरिदिने।
अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम- लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन्। त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ। ती हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्तीसारमा ८ वर्षअघि जन्मिएका हुन्। अहिले नोटमा छापिएको हात्तीलाई भने केही व्यक्तिले अफ्रिकी भनेका छन्।
हात्तीकै विषयमा विद्यावारिधि गरेका नरेन्द्र प्रधान भने यसलाई एसियाली नै ठान्छन। एसियामा तीन किसिमका हाती पाइन्छन् – म्याक्सिमस, इन्डिसस र सुमात्रानस। तीने उपप्रजाति हेर्दा उस्तै देखिन्छन्। नेपालदेखि श्रीलंकासम्म म्याक्सिमस पाइन्छन। नोटमा छापिएका हात्तीको दाहार कानले इन्डोनेसिया वरपर सुमात्रा टापमा पाइने जस्तो देखिएको विज्ञहरू बताउँछन्।
यद्यपि, पोट्रेट भएकाले यसको पुष्टि गर्न कठिन हुने डा. प्रधानको भनाइ छ। राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री भन्छन्, ‘त्यतिबेला हात्ती राख्ने त भने। नेपालको हो कि विदेशको हो, मतलब गरेनन्।’ नोट निष्कासन अन्धाधुन्ध निर्णयले हुने भने होइन।
राष्ट्र बैंकको नोट छपाइ समितिमा गभर्नर संयोजक हुन्छन् भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पुरातत्त्व विभागका प्रमुख पनि समेटिन्छन्। समितिमा राष्ट्र बैंककै डेपुटी गभर्नर र मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रहन्छन् । तिनले आआफ्ना विषयगत तस्बिर उपलब्ध गराउने गरेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन्। तर हात्तीको तस्बिर राख्न सुरु गरेको धेरै समय भएकाले त्यो कसरी जुटाइयो भन्ने जानकारी बंकका वर्तमान अधिकारीलाई छैन । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
