एनसेलको फोरजी अब देशका हजारभन्दा बढी स्थानमा
Investopaper, जेष्ठ २०, २०७६
एनसेलले ग्राहकलाई नयाँ प्रविधिको लाभ प्रदान गर्ने उद्देश्यले देशका हजारभन्दा बढी स्थानमा चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लंग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरेको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका हजारभन्दा बढी स्थानमा पुगेकोे घोषणा गरेको हो । योसँगै देशका सबै सहर र सहरी क्षेत्रभन्दा बाहिरका ग्राहकसम्म पनि द्रूत गतिको मोबाइल ब्रोडब्यान्ड सेवाको पहुँच पुगेको एनसेलको भनाइ छ ।
‘ग्राहकलाई दू्रत गतिको मोबाइल कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न देशका अधिकांश स्थानमा फोरजी सेवा विस्तार गरेका छौँ,’ एनसेलका कार्यवहाक प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यो सेवा अझै देशव्यापी रूपमा विस्तार गर्ने कार्य भइरहेको ।’ एनसेलको फोरजी नेटवर्कले सरकारले घोषणा गरेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा योगदान गर्ने उनको भनाइ थियो ।
सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले द्रुत गतिको मोबाइल ब्रोडब्यान्ड सेवाको लाभ लिन सक्नेछन् । फोरजी/एलटिई प्रविधिअन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीमा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसन प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइल आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्री सजिलै हेर्न सक्नेछन् ।
एनसेलले २०७४ जेठ १८ बाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमा फोरजी सेवा सुरु गरेको थियो । आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई मात्र १ रुपैयाँ तिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्ने एनसेलले बताएको छ । नयां पत्रिकामा समाचार छ ।