ग्रिन इनर्जीले पायाे, सबै प्रदेशमा सौर्य ऊर्जाकाे सम्भाव्यता अध्ययन गर्ने अनुमति

Investopaper,  जेष्ठ २०, २०७६

लगानी बोर्डले सातै प्रदेशमा सौर्य ऊर्जा परियोजनाको सम्भाव्यता अध्ययन गर्न फिलिपिन्सको ग्रिनइनर्जी सोलुसन इन्कर्पोरेसनलाई अनुमति दिएको छ ।

सातै प्रदेशमा करिब ५ सय ५० मेगावाटको सौर्य ऊर्जा परियोजना सम्बन्धी अध्ययनका लागि अनुमति पत्र दिने निर्णय भएको बोर्ड कार्यालयले जनाएको छ । बोर्डको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यो परियोजनाको कुल लागत ४८ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको छ ।

सरकारले बजेटमार्फत हरेक प्रदेशमा सौर्य र जलविद्युत् गरी दुई ठूला आयोजना निर्माण गर्ने घोषणा गरेको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले १० वर्षमा १५ हजार मेगावाट ऊर्जा उत्पादनको लक्ष्य लिएको छ ।

बोर्डको बैठकले वीरगन्ज र भैरहवामा बन्दरगाह निर्माण परियोजनाको सम्भाव्यता अध्ययन गर्न पनि अनुमति प्रदान गरेको बोर्ड कार्यालयले जनाएको छ । करिब ६ अर्ब ५१ करोड रुपैयाँ लागत भएको यो संरचनाको सम्भाव्यता अध्ययनका लागि फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीलाई दिइएको बोर्ड कार्यालयले जनाएको छ ।

ऊर्जा परियोजना र बन्दरगाह परियोजना सम्भाव्यता अध्ययनका लागि सरकारलाई कुनै आर्थिक भार नपर्ने सर्तमा अनुमतिपत्र दिइएको बोर्ड कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनीमा बौद्ध धर्मसम्बन्धी प्रदर्शनी पार्क निर्माणको लागि पनि अध्ययन अनुमति दिने निर्णय गरेको छ । अध्ययनका लागि प्रस्तावक कम्पनी सिल्क रोड इन्टरनेसनल होल्डिङलाई दिइएको हो । बैठकले सार्वजनिक निजी साझेदारी तथा लगानी विनयमावलीको मस्यौदालाई स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको बोर्ड कार्यालयले जनाएको छ ।

सार्वजनिक–निजी साझेदारीमा परियोजना अघि बढाउन र विदेशी लगानी प्रवर्द्धनको उद्देश्यसहित भर्खरै मात्र संसद्ले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन पारित गरेको छ ।

याे समाचार कान्तिपुर दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *