वैंकर र व्यवसायी छुट्याउन, ऐन संशाेधन प्रकृयामाः राष्ट्र वैंक बाध्यात्मक मर्जरको गृहकार्यमा

Investopaper, श्रावण १७, २०७६ 

काठमाडौँ — मौद्रिक नीतिमार्फत ठूला मर्जरका लागि कडा नीति ल्याउन चुकेको केन्द्रीय बैंकले बाध्यात्मक मर्जरको गृहकार्य सुरु गरेको छ । त्यसका लागि पहिलो चरणमा बैंकबाट लगानीकर्ताको विवरण माग्न थालेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पत्र काटेर न्यूनतम ०.१ प्रतिशतभन्दा बढी सेयर हुने सेयरधनीको विवरण पठाउन पत्राचार गरेको डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । राजधानीमा आयोजित एक कार्यक्रममा बिहीबार डेपुटी गभर्नर सिवाकोटीले यस्तो खुलासा गरेका हुन् ।

एकै व्यक्ति व्यवसायी र बैंकर दुवै हुँदा व्यक्तिगत स्वार्थ बाझिने भएकाले विगतमा बैंकिङ क्षेत्रमा विभिन्न समस्या देखिएका छन् । हालसम्म राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका १६ संस्थामध्ये अधिकांशमा यही कारणले समस्या सिर्जना भएको थियो ।

‘हामी मर्जरबाट पछि हट्न चाहेका होइनौं,’ उनले भने, ‘बैंकको संख्या घटाउनु नै पर्नेछ । त्यसका लागि आन्तरिक रूपमा हामी लागिपरेका छौं ।’ पहिलो चरणमा मौद्रिक नीतिमार्फत मर्जरमा जाने बैंकलाई थप पाँच प्रकारको सुविधा दिइएको जनाउँदै उनले भने, ‘एकैपटक बाध्यात्मक मर्जरमा जाऊ भनेर निर्देशन दिने होइन, बिस्तारै वातावरण बनाउने हो ।’ आन्तरिक गृहकार्यपछि बैंकलाई कारणसहित पर्याप्त समय दिएर ठूलो मर्जरका लागि प्रोत्साहन गरिने उनले बताए । ‘परिस्थिति हेरेर बाध्यात्मक मर्जरको व्यवस्था पनि आउन सक्छ,’ उनले थपे, ‘मौद्रिक नीतिमा पनि यो व्यवस्था उल्लेख छ ।’

एउटै व्यक्तिले एकभन्दा बढी बैंकमा ठूलो लगानी गर्न नपाउने व्यवस्था छ । राष्ट्र बैंकको निर्देशनअनुसार कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार उल्लिखित सीमाभन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीले तोकिएको सीमाभित्र नआएसम्म सम्बन्धित संस्थाबाट वितरण गरिने नगद लाभांश तथा बोनस सेयर रोक्का राखी सम्बन्धित संस्थाबाट जारी गरिने हकप्रद सेयरमा सहभागी हुन बन्देज लगाइएको छ ।

‘ ऋण दिने र लिने व्यक्ति एउटै हुनु भएन’

ऋण दिने र लिने व्यक्ति एउटै भएका कारण वित्तीय क्षेत्रमा थिति बस्न नसकेको संघीय संसदका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताए । ‘कमसेकम ऋण प्रवाह गर्ने व्यक्ति र ऋण लिने व्यक्ति एउटै हुनु भएन,’ उनले भने, ‘अहिले यही भएकाले समस्या देखिएको छ ।’

राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालक र संस्थापक सेयरधनीले आफ्नो बैंकबाट ऋण लिन बन्देज गरे पनि ती व्यक्तिले अर्को बैंकबाट लिएकाले समस्या भएको उनले बताए । ‘बैंकर र व्यवसायी नछुट्याई यो समस्या समाधान हुँदैन,’ उनले थपे, ‘यसको नेतृत्व राष्ट्र बैंकले गरोस्, आवश्यक नीति नियम बनाउन हामी तयार छौं ।’

एकै व्यक्ति बैंकर र व्यवसायी हुन नपाउने व्यवस्थाका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गरी अर्थ मन्त्रालय पठाएको छ । संशोधनको प्रक्रियामा रहेको बाफियामा राष्ट्र बैंकले उद्योग व्यवसायमा निश्चित प्रतिशतभन्दा बढी लगानी भएको व्यक्ति बैंक सञ्चालक हुन नपाउने व्यवस्था गर्न लागेको हो ।

‘बाफियामा सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्थामा तोकिएको प्रतिशतभन्दा बढी लगानी भएको व्यक्ति सञ्चालक बन्न नपाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘वित्तीय प्रणालीलाई स्वच्छ र सुशासित बनाउनका लागि उक्त व्यवस्था अपरिहार्य छ ।’ विश्वमा कहीँ नभएको व्यवसायीले बैंक चलाउन पाउने व्यवस्था नेपालमा भएकाले वित्तीय प्रणाली राम्रो बन्न नसकेको ती अधिकारीले बताए ।

सरकारको निर्देशनअनुसार राष्ट्र बैंक ऐन र बाफिया संशोधनका लागि राष्ट्र बैंकमा एक समिति गठन भएको थियो । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित उक्त समितिको सुझावका आधारमा राष्ट्र बैंक ऐन र बाफियामा संशोधन गरी गत वर्ष नै अर्थ मन्त्रालय पठाइएको हो । सोही संशोधनमा व्यवयासी र बैंकर छुट्याउने विषय पनि परेको हो । प्रस्तावित बाफिया हुबहु पारित भए बैंकर र व्यवसायी एउटै व्यक्ति बन्न पाउने छैनन् ।

एकै व्यक्ति व्यवसायी र बैंकर दुवै हुँदा व्यक्तिगत स्वार्थ बाझिने भएकाले विगतमा बैंकिङ क्षेत्रमा विभिन्न समस्या देखिएका छन् । हालसम्म राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका १६ संस्थामध्ये अधिकांशमा यही कारणले समस्या सिर्जना भएको थियो ।

यसकारण आउँदा दिनमा त्यस्ता समस्या नदोहोरिउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्टयाउन खोजेको हो । हालको कानुनी व्यवस्थाअनुसार एउटा बैंकका सञ्चालक रहेको व्यक्तिले सो बैंकबाट ऋण लिन पाउँदैन । सो व्यक्तिले अर्को बैंकबाट भने ऋण लिन सक्छ । याे समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *