वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने सम्मानित
Investopaper, असार ३०, २०७६
काठमाडौं : वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गर्ने उद्यमी पुरस्कृत भएका छन्। विभिन्न देशमा काम गरी स्वदेशमा उद्यमी बनेका ६ व्यवसायीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको हो। आ
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका मध्येबाट विभिन्न व्यवसाय गर्ने व्यवसायीलाई मन्त्रालयले नगद ५० हजारदेखि १ लाख रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरेको हो।
उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट दुबईमा ११ वर्ष बसेर बाराको निजगढमा कान्तिपुर पोल्ट्री ब्रिडिङ र फार्म सञ्चालक नवराज पौड्याललाई एक लाख नगदसहित पुरस्कृत गरिएको थियो। उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पुरस्कृत गरेका हुन्। पौड्यालले ४८ जनालाई रोजगारी दिएका छन्।
उद्यमी राष्ट्रिय पुरस्कारबाट झापाका दिपक चापागाई, भोजपुरका निरबहादुर राउत, सिन्धुलीका एकबहादुर सिङ्तान, हेटौंडाका मनोजकुमार भारती, झापाकी शर्मिला अधिकारी, कैलालीका त्रिलोक पनेरु पुरस्कृत भएका हुन्। उनीहरूलाई ५० हजार रुपैयाँ र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो।
चापागाईले झापामा डायमण्ड स्टिल उद्योग स्थापना गरी फलामका काँटी, नट वेल्ट, रड, स्टिल, दराज, ग्रील उत्पादन गर्दै आएका छन्। त्यसैगरि राउत र सिङ्तानले रामकोटमा मैत्री मंगल अर्गानिक कृषि फार्ममार्फत तरकारी खेती गर्दै आएका छन्। उनीहरुले १ सय २८ रोपनीमा तरकारी खेती गरी ३० जनालाई रोजगारी दिएका छन्।
भारतीले हेटौंडामा फिट वेल गार्मेन्ट सञ्चालन गरी ९५ जनालाई रोजगारी दिएका छन् भने अधिकारीले कीर्तिपुरमा रामलक्ष्मण कृषि फर्म, राउत एन्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म मार्फत १५ जनालाई रोजगारीमा लगाएर पशुपालन, तरकारी र फलफूल खेती गर्दै आएकी छिन् ।
यता पनेरुले आलोक गार्मेन्ट उद्योग स्थापना गरी १५ जनालाई रोजगारी दिएका छन्। उनले कोरियन भाषा प्रशिक्षण केन्द्रसमेत सञ्चालन गरेका छन्।
पुरस्कार वितरण कार्यक्रममा बाेल्दै मन्त्री विष्टले दक्ष कामदार उत्पादन गर्न सरकार लागि परेको जानकारी दिए। उनले भने, ‘परिणाम महसुस हुने गरी देशभित्रै रोजगारीसँग जोड्ने अभियान सुरु गर्दैछौं।’ याे समाचार आजकाे अन्नपूर्ण पाेष्टमा छ ।
