चर्चाकाे शिखरमा चिनियाँ च्याटबट ‘डिपसिक एआई’

न्भेष्टाेपेपर । माघ १५, २०८१

काठमाडौँ । अमेरिकामा यति बेला चिनियाँ एआई स्टार्टअप कम्पनी ‘डिपसिक’ को चर्चा यति धेरै छ, यसले अमेरिकी प्रविधि कम्पनीहरूको सेयर बजार नै प्रभावित पारिरहेको छ । उन्नत एआई मोडलहरू विकास गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्टारगेट’ नामक डेटा सेन्टर परियोजना स्थापना गर्ने घोषणा गरिरहँदा प्रयोगकर्ताहरू भने चिनियाँ च्याटबट डाउनलोड गर्नतिर लागेका छन् ।

हाल अमेरिकामा एप्पलको एपस्टोरमा यो सबैभन्दा लोकप्रिय नि:शुल्क एप बनेको छ ।

सीएनएनका अनुसार सोमबार डिपसिक एआई एसिस्टेन्सको उभारपछि अमेरिकाका प्रविधि कम्पनीहरूको सेयरमा गिरावट आएको थियो । एक वर्षअघि स्थापना भएको सो स्टार्टअप कम्पनीले ‘आरवान’ नामक च्याटजीपीटीजस्तै एआई मोडेल निर्माण गरेको छ । र, यो ओपेनएआईको च्याटजीपीटी, गुगल र मेटाका नयाँ एआई मोडलभन्दा निकै सस्तो मूल्यमा सञ्चालन हुने भएकाले यसले सबैलाई चुनौती दिएको विश्लेषण भइरहेका छन् ।

डिपसिकले आफ्नो नयाँ एआई मोडल विकास गर्न जम्मा ५६ लाख अमेरिकी डलर खर्च गरेको जनाएको छ । अन्य एआई कम्पनीहरूले भने आफ्ना एआई प्रविधिहरूमा अर्बौँ डलर खर्च गरिरहेको बताउने गरेका छन् । गत हप्ता मात्रै सार्वजनिक भएको यो डिपसिक एप यतिखेर अमेरिकामा छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । आफ्नो प्रतिस्पर्धी च्याटजीपीटीलाई पछि पार्दै यो चर्चाको शिखरमा उक्लिरहेको बीबीसीको कथ्य छ ।

सोमबार यस चिनियाँ च्याटबटको चर्चा चुलिएपछि एआई चिप निर्माता एनभिडिया, माइक्रोसफ्ट, मेटाजस्ता अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्य ओरालो लागेको थियो । एनभिडियाको सेयर मूल्य १६ प्रतिशतले घटेको थियो । यसले अमेरिकाको एआई प्रभुत्वमा धक्का सिर्जना गरेको रूपमा हेरिएको छ । अमेरिकाले एआई प्रविधिका लागि आवश्यक पर्ने उन्नत सेमिकन्डक्टर चिप चीन निर्यातमा कडाइ गरिरहँदा डिपसिक उदाउनुलाई थप अर्थपूर्ण मानिएको छ ।

अमेरिकी भेन्चर क्यापिटलिस्ट एवं ट्रम्पका सल्लाहकारसमेत रहेका मार्क एन्डरसनले यो घटनालाई ‘एआईको स्पुतनिक क्षण’ का रूपमा टिप्पणी गरेको बीबीसीले जनाएको छ । सन् १९९७ मा तत्कालीन सोभियत संघले विश्वमै पहिलो पटक अन्तरिक्षमा स्पुतनिक नामक भूउपग्रह प्रक्षेपण गरेको थियो ।

अन्तरिक्षमा को पहिलो हुने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला आफ्ना प्रतिस्पर्धी देशले प्रविधि क्षेत्रमा फड्को मार्दा अमेरिका चकित बनेको थियो । अहिले एआईमा पनि चिनियाँ प्रविधि अघि बढ्नुलाई स्पुतनिक घटनासँग जोडिएको हो ।

डिपसिक-भीथ्री मोडेलमा सञ्चालित यो एआई ओपेन-सोर्स मोडलमध्ये उत्कृष्ट मात्रै नभएर क्लोज-सोर्स मोडलहरूलाई पनि टक्कर दिन सक्षम देखिएको विश्लेषण भइरहेको छ । चीनमाथि लगाइएका चिप निर्यात प्रतिबन्धहरू खासै प्रभावकारी नभएको पनि यसबाट बुझ्न सकिने कतिपयले औँल्याएका छन् ।

निवर्तमान राष्ट्रपति जो बाइडेनले लगाएको प्रतिबन्धका बीच डिपसिकले आफ्नो च्याटबटको ट्रेनिङका लागि एनभिडियाको एच८०० चिपहरू प्रयोग गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । तर, यी चिपहरू प्रयोग गरिएको विषय विवादित नै छ ।

बीबीसीका अनुसार सन् २०२३ मा दक्षिपूर्णी चीनको हाङझाउ सहरमा लियाङ वेनफेङले यो कम्पनी स्थापना गरेका थिए । इन्फरमेसन एन्ड इलेकट्रोनिक इन्जिनियरिङमा स्नातक ४० वर्षीय वेनफेङले चीनमा निर्यातमा कडाइ गरिनुअघि नै एनभिडियाको ए१०० चिप किनेर राखेको र त्यसबाटै एआई मोडल विकास गरेको बताइन्छ ।

‘उनलाई हालै मात्र चिनियाँ प्रधानमन्त्री ली चियाङ र उद्योग क्षेत्रका विज्ञहरूबीच भएको बैठकमा देखिएको थियो,’ बीबीसीले लेखेको छ, ‘सन् २०२४ को जुलाईमा लियाङले आफ्ना अघिल्ला एआई मोडल देखेर आश्चर्य भएको बताएका थिए ।’ याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *