कविता : “भोक”
— हृदय लेकाली
अनुष्टुप छन्दमा :-
भोक हो शत्रु मान्छेको खानै पर्दछ बाँच्न त
ढुङ्गा माटो चपाएर मान्छे सक्तैन हाँस्न त
छाती दुख्दछ मान्छेको भोकले पेट पोल्दछ
नपाए खान बेलामा आगो भै भोक बोल्दछ।
हुँदैन सुन खाएर हीरा मोती न चल्दछ
असर्फी सुन चाँदीका खाई के भोक गल्दछ रु
नदेऊ धाक जेथाको खाने त अन्न पात हो
सुनले ज्यान ढाके नि खाने त दाल भात हो।
मान्छे मर्दछ भोकैले कि मान्छे मर्छ शोकले
जो ग्रसित छ कम्जोर उनै डसिन्छ रोगले
बम बारुद जित्दैन भोक जित्ने त अन्न हो
उब्जनी कृषि जो गर्छ धर्ती सारथि धन्य हो ।
ठेली किताब पढ्नेले भोकको महिमा बुझ
दर्शन शास्त्र रट्नेले अन्नको गरिमा बुझ
ज्ञानविज्ञान खोज्नेले खोज निदान शोकको
समुन्नत गरौँ खेती समस्या हट्छ भोकको ।
माटो प्रयोगशाला हो उब्जने अन्न ओखती
खुराक प्राण अन्नै हो मेट्दछ भोकको गति
भोकले थिच्छ मान्छेमा राज्य अशान्त बन्दछ
डढेलो भोक सल्केमा क्रान्तिले दिन गन्दछ ।
— भैरहवा, रूपन्देही
