आठ महिनामा भित्रियो साढे दस खर्ब रुपियाँ रेमिट्यान्स, अन्य सूचकाँङ्क कस्ता ?

न्भेष्टाेपेपर ।  चैत २८, २०८१

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको आव २०८१/८२ को आठ महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा ९.४ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई सात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रुपियाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख १७ हजार ४०३ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः दुई लाख ८५ हजार ३५२ र एक लाख ८२ हजार ७८३ थियो ।

चालु खाता करिब दुई खर्बले बचतमा

समीक्षा अवधिमा चालु खाता करिब दुई खर्बले बचतमा रहेको छ । चालु आवको आठ महिनामा चालु खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६७ अर्ब ४५ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ३३ करोडले बचतमा रहेको छ ।

पुँजीगत ट्रान्सफर छ अर्ब एकचालिस करोड

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर छ अर्ब ४१ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ८९ करोड रहेको थियो । यसै गरी समीक्षा अवधिमा आठ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ६३ करोड रुपियाँ रहेको थियो ।

शोधनान्तर स्थिति तीन खर्ब भन्दा बढी बचतमा

समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २९ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति चौबिस खर्बमाथि

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.० प्रतिशतले वृद्धि भई फागुन मसान्तमा २४ खर्ब नौ अर्ब २५ करोड पुगेको प्रतिवेदनमा औँल्याइएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ फागुन मसान्तमा ४४.९ प्रतिशतले वृद्धि भई दुई खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *