सनराइज बैंककाे एस.एम.ई. कर्जा ९.९५ प्रतिशत व्याजमा
इन्भेष्टोपेपर । श्रायण ०८, २०७७
सनराइज बैंक लिमिटेडले “सनराइज सरल एस.एम.ई. कर्जा” ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा दिने भएको छ । आफूसँग ज्ञान, सीप भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन गर्न असमर्थ साना व्यवसायीलाई सहज हाेस भन्ने उदेश्यले यस्ताे सुविधा उपलव्ध गराइएकाे बैंकले जनाएकाे छ ।
उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ भने ग्राहकले रु. एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् ।
यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।
साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका यस बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।
