उत्तरगंगा विद्युत् आयोजनाको निर्माण कार्य शुरु गरिंदै
रासस । वैशाख ३१, २०७७
रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।
आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बोलपत्र आह्वान गरिसकिएको जानकारी दिइएको छ । जिल्लामा निर्माण भएका अन्य साना जलविद्युत् आयोजना धेरै छन् ।
जिल्लामा निर्माण हुँदै गरेको पाँच मेगावाटपछिको यो दोस्रो ठूलो क्षमताको आयोजना रहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन् । कुल रू. ५२ करोड लगानीमा उक्त आयोजना निर्माण हुने जानकारी दिइएको छ ।
उपाध्यक्ष शाहीका अनुसार रू. २८ करोड एडिबीको सहयोग तथा कृषि विकास बैंक र गाउँपालिकाको रू. पाँच/पाँच करोडको लगानी हुनेछ । बाँकी रू. १४ करोड गाउँपालिकावासीले सेयरमार्फत लगानी गर्ने छन् ।
जम्मा १७ हजार ९३४ जनसंख्या रहेको गाउँपालिकामा पाँच हजार आठ घरधुरी छ । उत्तरगंगा हाइड्रोपावर निर्माणको काम अगाडि बढाउनका लागि गत माघ पहिलो साता बोलपत्र आह्वान गरिएको थियो । चैतदेखि काम शुरु गर्ने भनिए पनि कोरोना महामारीको कारण आयोजनाको काम अगाडि बढ्न नसकेको उपाध्यक्ष शाहीले बताइन् ।
सम्झौता भएको १८ महीनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । एक मेगावाट क्षमताको विद्युत् आयोजनाले गाउँपालिका नै झिलीमिली बनाउनाका साथै बाहिर निर्यात गर्ने बताइएको छ ।
अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा विद्युत पुर्याउने काम भइरहेको छ । एक मेगावाटको विद्युत् आयोजना निर्माण भएमा सबै साना आयोजनालाई ग्रीडमा जोडेर बाहिर निर्यात गर्ने बताइएको छ । रासस
